February 20, 2016 ·
नेपालको शासन प्रणालीको संक्षिप्त इतिहास उल्लेख गदै वर्तमान शासन प्रणालीका प्रमुख विशेषताहरु उल्लेख गर्नुहोस्। <5+5=10>
=========================================================
नेपालको शासन प्रणालीको संक्षिप्त इतिहास
==============================
-2007 सालभन्दा अघि नेपालको शासन प्रणाली प्रथा,परम्परा,रीतिरिवाज र धर्ममा आधारित थियो।शासक स्वयंले सार्वभौमसत्ताको प्रयोग गरी स्वविवेकीय अधिकारमार्फत शासन सञ्चालन गर्दथ्यो।
-नेपाल सरकार वैधानिक कानून,2004 ले पहिलो पटक शासन सञ्चालनका आधारभूत संरचना,विधि र प्रकृयाको औपचारिक खाका तय गरे पनि त्यसको कार्यान्वयन भएन।
-राणा शासनको अन्त्य भएसंगै नेपालको अन्तरिम संविधान 2007 जारी भयो।हालसम्म नेपालको शासन प्रणालीलाई निर्धारण र दिशानिर्दे गर्ने 6 वटा संविधान कार्यान्वयनमा आइसकेका छन।
-राणाकालमा निरंकुश शासन पद्धतिको अभ्यास भए पनि विदेशी मुलुकसंग कुटनैतिक सम्बन्धको सुरुवात,केही कानुनी आधारको विकाश र समाजिक तथा आर्थिक सुधारका कार्यहरु भए।
-2007 सालदेखि 2017 सालसम्मको अवधिमा प्रजातान्त्रिक शासन प्रणालीको अभ्यास भयो।तर 2017 सालमा प्रजातन्त्रको हत्या गरी निर्दलीय पञ्चायती व्यवस्था लागू गरियो।र अरु 30 वर्ष यस्तो व्यबस्था कायम रह्यो।
-2047 सालको राजनैतिक परिवर्तनपछि अवलम्बन गरिएको आर्थिक उदारीकरण र निजीकरणको नीति,निजी तथा गैर सरकारी क्षेत्रको विकाश,विकेन्द्रीकरणको अभ्यास,अन्तर्राष्ट्रिय सम्बन्धको विस्तार,सुशासन र शासकिय सुधारका कार्यक्रम,प्रजातान्त्रिक शासन व्यवस्था आदिले गर्दा नेपालमा शासनसम्बन्धी आधुनिक र वृहत अवधारणाको सुरुवात हुन पुग्यो।
-हाल नेपालको शासन प्रणाली लोकतन्त्रका आधारभूत मूल्य मान्यतामा आधारित छ।शासनको आधुनिक अवधारणा अनुरुप सरकार आफू सहजकर्ता र नियामक भूमिकामा सीमित हुदै निजी र गैरसरकारी क्षेत्रका उपराज्य,राज्य तथा परराज्य तहका पात्रहरुसंग पारस्परिक सहयोग,सहकार्य र साझेदारीमा कार्य गर्ने पद्धतिको अवलम्बन गदै आइएको छ।
नेपालको वर्तमान शासन प्रणालीका प्रमुख विशेषता
==================================
राज्यको ढाँचा,शासकीय/सरकारको स्वरुप,सरकारका अंग र शक्ति बाँडफाँडको अवस्था,दलीय पद्धति,निर्वाचन प्रणाली,शासनका पात्र र तीनको भूमिका र अन्तर्राष्ट्रिय सम्बन्ध शासन प्रणालीका मुलभूत पक्षहरु हुन्।नेपालको वर्तमान शासन प्रणालीका विशेषतालाई यिनै पक्षहरुका आधारमा निम्नानुसार उल्लेख गर्न सकिन्छः
-लोकतन्त्रका आधारभूत मूल्य मान्यतामा आधारित शासन प्रणाली,
-नयाँ संविधानमार्फत राज्यलाई एकात्मकबाट संघात्मक ढाँचामा रुपान्तरण गर्ने क्रममा रहेको,
-शासकीय स्वरुपमा संसदिय सरकारको अभ्यास गदै आइएको
-राज्यशक्तिको व्यवस्थापिका,कार्यपालिका र न्यायपालिका बीचमा विभाजन गरी परस्परमा सन्तुलन र नियन्त्रण कायम गर्ने गरी अभ्यास गरिएको
-केन्द्रमा रहेको शक्ति तथा अधिकारलाई विकेन्द्रीकरणको मान्यता अनुरुप स्थानीय निकायमा निक्षेपण गरिएको
-राजनैतिक बहुलवादको मान्यता स्वीकादै बहुदलीय प्रणालीको अवलम्बन गरिएको
-प्रत्यक्ष र समानुपातिक दुवै विधी समेटी मिश्रित निर्वाचन प्रणालीको प्रयोग गरिएको
-शासन प्रक्रियामा सार्वजनिक,निजी र गैर सरकारी तीनवटै क्षेत्रलाई संलग्न गरिएको
-असंलग्नता र पञ्चशीलको सिद्दान्तमा आधारित परराष्ट नीतिको अवलम्बन गरिएको
-कार्यकारी अधिकारको स्वच्छाचारी प्रयोगमा रोक लगाउन विभिन्न संवैधानिक निकायहरुको व्यवस्था गरिएको।
निष्कर्षः
======
शासकीय प्रबन्धमा संलग्न संस्था,संरचना,प्रक्रिया र नियमहरुको समष्टिलाई शासन प्रणाली भनिन्छ।शासन प्रणाली कस्तो हुने भन्ने कुरा कुनै पनि मुलुकको संविधानले तय गरेको हुन्छ।नेपालमा 2007 सालभन्दा अघि शासन सञ्चालनको कुनै विधिवत् ढाँचा र पद्वति दिएन।2007 सालपछि संविधानद्वारा शासन प्रणाली व्यवस्थित हुदै आए पनि 2047 सालसम्म सरकार नै शासन हो भन्ने मान्यता हावि थियो।2047 सालको राजनैतिक परिवर्तनपछि आर्थिक उदारीकरण,विकेन्द्रीकरण र अर्न्तराष्ट्रिय सम्बन्धको विकाशसंगै नेपालमा पनि अधुनिक बृहत अवधारणा अनुरुपकै विशेषताहरु बोकेको शासन प्रणालीको अभ्यास हुँदै आएको छ।
===
S.P
===
No comments:
Post a Comment