Saturday, July 21, 2018

ब्यावसायिक शासन- Gopinath mainali

 
ब्यावसायिक शासन
212

गोपीनाथ मैनाली
शासकीय व्यवस्थाको औपचारिक पात्र राजनैतिक संरचना र औपचारिक प्रक्रिया कानूनी कार्यविधि भएपनि राज्यप्रक्रिया सञ्चालनमा धेरै पात्र र प्रबृत्तिले सहयोग पु¥याउने गर्दछन् । औपचारिक–अनौपचारिक पात्रहरुको सम्बन्ध, कार्यसञ्जाल र क्रियाशीलतामा नै सवल शासन पद्धति (सुशासन) प्राप्त गर्न सकिन्छ । आधुनिक लोकतन्त्रलाई व्यवस्थित, कार्यमूलक, व्यावसायिक र मर्यादित बनाउन विभिन्न पेशा र वर्गको क्षमताको उपयोग गरी सुशासन प्रवद्र्धनमा सहयोग पु¥याउने विधि नै व्यवासायिक शासन हो । पेशागत वर्ग र व्यक्तिको विज्ञता एवम् संभावनाको उपयोगले राज्यप्रक्रियालाई असल र अन्वेशणमुखी बनाउन सकिन्छ । त्यसैले आधुनिक र समृद्ध समाजमा पेशागत व्यावसायिकतालाई निकै महत्व दिने गरिन्छ । समाजमा सुशासनको माग बढ्दै गएको र अर्थतन्त्र प्रतिस्पर्धामुखी बन्दै गएकोले पनि व्यावसायिक शासनले महत्व पाएको हो ।

कुनै पनि विषयविधामा विशिष्ठ ज्ञान प्राप्त गर्ने र त्यसलाई विशेषीकृत सीपमार्फत व्यवहारमा अपनाउने विधि नै व्यवासायिकता हो भने ब्यासायिक शासन प्रणालीमा त्यो विशिष्ठ सीप एवम् दक्षताको अभ्यासमार्फत प्रणालीको समग्रस्तर बढाउने गरिन्छ । प्रणालीको नतिजा बढाउन, प्रभावकारिता विस्तार गर्न र जोखिम घटाउन व्यावसायिक सुशासन आवश्यक मानिन्छ । प्रणालीका पात्रहरुको व्यवहारलाई मर्यादित बनाइ सार्वजनिक जवाफदेहिता बढाउने प्रक्रियाका रुपमा पनि व्यावसायिक सुशासन रहन्छ । त्यसैले व्यावसायिक सुशासन समग्र शासन प्रणालीको एक भाग हो । व्यावसायिक शासन र सुशासन परिपूरक सहसम्बन्धमा रहन्छन् ।

व्यावसायिकतालाई सरल रुपमा बुझ्नु आवश्यक छ । कतिपयले यसलाई जटिल र औपचारिक रुपमा बुझ्न बुझाउने गर्दै आएका छन् । सामान्य रुपमा लिदा व्यावसायिकता पेशागत सिद्धान्त र ती सिद्धान्तप्रतिको निष्ठा हो । व्यवासायिक सुशासन पेशगत निष्ठाको अवलम्वन र अभ्यास हो । शासकीय व्यवस्थामा विभिन्न पात्रहरुले आप्mनो कार्यनिष्ठा र विशिष्ठता विकास गरी शासन प्रणालीलाई सहयोग गर्ने विधि नै व्यावसायिक शासन हो भने प्रत्येक पेशा विशिष्ठ सीपमा निष्ठापूर्वक अभ्यासमा रहदा व्यावसायिक सुशासन कायम हुन्छ । खास पेशाका आफ्ना कार्यमान र सिद्धान्त हुन्छन्, जो समष्टिगत उद्देश्य पूरा गर्न अभिन्न भागका रुपमा रहने गर्दछन् । समष्टिगत उद्देश्य सुशासन हो भने खास पेशाका कार्यमान एवम् आचरण त्यसका अभिन्न भागका रुपमा रहन्छन् । त्यसैले शासकीय व्यवस्था सुधारका सन्दर्भमा कुनै पेशा र त्यसको सीप अर्कोभन्दा कतिपनि अव्वल वा सानो रहदैन । कनै पेशालाई बढी महत्व दिने वा अर्कोलाई उपेक्षा गर्ने प्रवृत्ति व्यावसायिक शासनका दृष्टिमा मान्य होइन । सवैको पेशागत धर्म र आचारणमा नै शासन व्यवस्था अझ भनौ मानव सभ्यता गतिशील हुने गर्दछ ।

प्रत्येक पेशा र व्यवसायका आआफ्नै विशिष्ठ चरित्र हुन्छन्, मूल्य मान्यता पनि फरक हुने गर्दछन् । प्रत्येक पेशाले खास सीप, क्षमता र व्यवहारको माग गर्दछ । जस्तो कि इञ्जिनियर, चिकित्सिक, शिक्षक, पत्रकार, व्यवस्थापक, लेखापाल, कृषक, बैज्ञानिक, वित्त विश्लेषक आदि । एक पेशाले अवलम्वन गर्ने आचरण अर्को पेशामा विपरीत पनि देखिन सक्दछ । जस्तो कि शिक्षकहरु बोल्ने दायित्वमा रहन्छन्, चिकित्सकहरु कम बोल्छन् भने जासुसी संयन्त्रमा रहेका व्यक्ति बोल्नै नहुने काममा रहन सक्दछन् । व्यवस्थापनका उच्च तहमा नीति विश्लेषण व्यावसायकतामा रहन्छ भने अग्रपंङ्क्तिका कार्यालयमा रहने पदहरु कर्यमूलक सीपमा रहनु पर्दछ । तर समग्र प्रणालीको उद्देश्य पूरा गर्न समान रुपमा यी पेशागत चरित्रले सहयोग पु¥याउछ ।

नागरिक सेवा वा हित विस्तार नै व्यावसायिक शासनको आशय हो । ब्यावसायिक शासन पद्धतिले जनतालाई केन्द्रविन्दुमा राख्दछ, सेवा तथा उत्पादनको लागत घटाई दक्षता बढाउछ, गुणस्तर सुधार गर्दछ । साथै पेशा र प्रणालीको विश्वास बढाउछ । शासन प्रणाली व्यावसायिक हुनु भनेको प्राविधिक हुनु हो भन्ने मात्र होइन, यसको जनमुखीपना र स्तरीयता बढाउनु हो । शासन व्यवस्था नतिजामूलक बन्नु हो । किनकी पेशागत विशिष्ठताले जनमुखी सेवालाई जोड दिन्छ, निरन्तर जोड दिन्छ । यो गतिशील प्रक्रिया पनि हो । हिजोको कतिपय पेशागत सीप र आचारणहरु आज परिमार्जनका क्रममा छन् । व्यावसायिक सुशासनले प्रणालीभित्र एकरुपता स्थापित गरी नियन्त्रण र परीक्षणलाई पनि सघाउ पु¥याउदछ ।

ब्यावसायिक सुशासनका लागि सांगठनिक मूल्यको घोषणा आवश्यक छ । सांगठनिक मूल्यले संस्थाको स्थूल उद्देश्य निर्धारणमा आधार दिन्छ । मूल्य र उद्देश्यका आधारमा नै संगठनले क्रियाशीलता देखाउने हो । साथै ती मूल्यहरुको विस्तृतीकरण गरी सिद्धान्त, मान्यता, मानदण्डमा ढाल्ने र आचार संहिता, कार्यविधि, निर्देशिका, दिग्दर्शन र कार्यसम्पादन सूचक समेत निर्धारण गर्न आवश्यक छ । यी कार्यहरुले संगठनमा उपयोग हुने साधन, शक्ति र स्रोतको बैधता पुष्टि गर्दछ, संगठनलाई जवाफदेही बनाउन र नागरिक विश्वास जित्नसक्ने बनाउछ । खास पदका लागि कार्यजिम्मेवारी तोक्न र कार्यजिम्मेवारीबाट पात्रलाई विषयान्तर नहुन नैतिक आधार खडा गर्दछ ।

आधुनिक राज्य सञ्चालनमा सुशासनलाई अति नै महत्व दिइन्छ । व्यावसायिक सुशासन विधिको शासनका अभिन्न भाग पनि हुन् । किनकी व्यावासायिक मानक र कार्यआचारणले विधिको शासनलाई नैतिक धरातल दिन्छ । विधिको शासन केवल कानूनको उचित कार्यविधि मात्र होइन, यो राज्यप्रक्रिायालाई जवाफदेही र कार्यनिष्ठ बनाउने विधि पनि हो । चित्सिकले समयमा अस्पताल पुगे मात्र हुदैन, रोगको पहिचान र उपचार पनि खोज्नु पर्दछ । अग्रपंक्तिका कार्यालयले समय र विधि मात्र पु¥याएर हुदैन, सेवाग्राही सन्तुष्टि विस्तार गर्नसक्नु पर्दछ । व्यावासायिक शासनले यस्ता सारभूत पक्षमा ध्यान दिई शासन प्रणालीलाई बैध, कार्यवोधी र नतिजामुखी बनाउछ । शासनलाई सुशासनमा बदल्नु भनेको धेरै अर्थमा व्यावसायिक शासन पद्धति अवलम्वन गर्नु हो । शासन प्रक्रियाको औपचारिक शृङ्खलाभन्दा पररहने पेशागत संगठन, नीति संगठन, अनुसन्धाता र विज्ञहरु अवधारणा, अध्धयन, आविस्कार र मानकहरु निर्धारण गरी शासन प्रक्रियाको औपचारिक शङ्खलालाई निरन्तर सहयोग गरिरहन्छन् ।

नेपालमा व्यावसायिक सुशासनका लागि नीति, संरचना र संगठनहरु क्रियाशील रहदै आएका छन् । लोकतान्त्रिक शासन पद्धतिको अवलम्वन पश्चात पेशागत विशिष्ठतालाई उपयोग गर्ने अवधारणाले महत्व पाएको छ । संविधानले राज्यका अंगहरुबीचको नियन्त्रण सन्तुलनको व्यवस्थाका साथै यिनीहरुको कार्यविधिको व्यवस्था गरेको छ । यसले विभन्न वर्ग, जात, क्षेत्र, सम्प्रदायमा रहेको मौलिक सीप र संभावनाको उन्नयन गरी राष्ट्र निर्माण गर्ने सोच राखेको छ । राज्यका संरचनाहरुलाई सामाजिक रुपान्तरण र आर्थिक समृद्धिका लागि परिचालन हुन निर्देश गरेको छ । सुशासन ऐन तथा नियमावली राज्य सञ्चालनमा ध्यान दिनुपर्ने आधार र मानदण्डको उल्लेख गरेको छ । क्षेत्रगत कानूनले पेशा व्यवसायको प्रवद्र्धनका लागि अवसर दिएको छ । प्रत्येक पेशाभित्र खास तहसम्मका लागि पेशागत संगठनमा आवद्ध हुन पाउने व्यवस्था गरेको छ ।
प्रत्येक पेशागत संगठनलाई मर्यादित बनाउन सीप परीक्षण तथा प्रवद्र्धन निकायहरु गठन भएका छन् । जस्तो कि वकिलको पेशागत हितका लागि वार काउन्सिल, चिकित्सकका लागि मेडिकल काउन्सिल, शिक्षक संगठन, प्राविधि सीप तथा व्यावसायिक तालीम केन्द्र, उद्योग व्यवसायसंग सम्बन्धित संस्था लगायत अन्य पेशागत संगठनहरु आप्mनो पेशागत हक हित विकास तथा सम्वद्र्धनमा क्रियाशील छन् । साथै यस्ता पेशागत संगठनको आवद्धता र सञ्जालीकरण वाह्य मुलुक एवम् अन्तराष्ट्रिय मञ्चमा समेत हुने गरेको छ ।

निजामती सेवा, प्रहरी, वकिल, लेखा परीक्षक, संवैधानिक निकाय आदिका लागि आचारणका सिद्धान्त, आचार संहिता, विकेन्द्रीकृत आचरण र मापदण्डहरु कायम गरिएको छ । साथै परम्परागत मूल्य पनि सांगठनिक व्यावसायिकता प्रवद्र्धनमा रहदै आएका छन् । व्यावसायिकता अवलम्वन गरे नगरेको परीक्षणका लागि प्राविधिक परीक्षण, प्रशासकीय परीक्षण, व्यवस्थापन परीक्षण र अनुगमन लगायत निगरानी प्रणालीको व्यवस्था । पेशागत विशिष्ठताको कदरका लागि पुरस्कार, प्रोत्साहन र मानसम्मानका व्यवस्था पनि छन् ।

 

212 

No comments:

Post a Comment